Header Ad 272×90
Home Tags Bharatiya Gorkha Parisangh

Tag: Bharatiya Gorkha Parisangh

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

उत्तर लखिमपुर, असम,nelive24:
असमका गोर्खा जातिका लागि महत्त्वपूर्ण घटनाक्रमका रूपमा भारतीय गोर्खा परिसंघ (भा.गो.प.), असम राज्य समितिको साधारण सभा आइतबार उत्तर लखिमपुरको चराइमोरियास्थित राजधनी इटरी प्रेक्षागृहमा सम्पन्न भएको छ। यसै अवसरमा भारतीय गोर्खा परिसंघ, लखिमपुर जिल्ला समितिको प्रतिनिधि अधिवेशनले पुरानो समितिलाई विधिवत विघटन गर्दै जिल्ला समितिको पुनर्गठन सर्वसम्मत रूपमा सम्पन्न गरेको छ।
जिल्ला अध्यक्ष श्री गोबिन विश्वकर्माको अध्यक्षतामा सम्पन्न प्रतिनिधि अधिवेशनले रंगनादी क्षेत्रका अवकाशप्राप्त कर्मचारी श्री राजेन छेत्रीलाई लखिमपुर जिल्ला समितिको अध्यक्षमा निर्वाचित गरेको छ। त्यसैगरी, रामपुर क्षेत्रका भारतीय सेनाबाट अवकाशप्राप्त सुबेदार मेजर गोपाल लिम्बूलाई कार्यकारी अध्यक्ष तथा लखिमपुर क्षेत्रका अवकाशप्राप्त शिक्षक श्री हेमचन्द्र छेत्रीलाई मूल सचिवको जिम्मेवारी प्रदान गरिएको छ। परिसंघका केन्द्रीय तथा राज्य नेतृत्व र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा गठन भएको यो ३७ सदस्यीय नवगठित समितिलाई सम्पूर्ण लखिमपुर जिल्लाभरि परिसंघको संगठनात्मक आधार सुदृढ बनाउने र जातीय गतिविधिहरू समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
यसैबीच, आगामी २५ अगस्ट २०२६ मा लखिमपुरमा आयोजना गरिने भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको ७औँ त्रैवार्षिक अधिवेशन तथा आजाद हिन्द फौजका अमर शहीद मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न छुट्टै साधारण सभामार्फत एक सशक्त स्वागतकारिणी समिति गठन गरिएको छ। उक्त सभा अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम गोर्खा सम्मेलन (AGS), असम नेपाली साहित्य सभा (ANSS) र गोर्खा स्वायत्त परिषद् माग समिति (GACDC) लगायतका प्रतिनिधिहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो।
असम नेपाली साहित्य सभा, लखिमपुरका अध्यक्ष श्री डिल्लीराम शर्माको अध्यक्षतामा बसेको बैठकले वकिल तथा विशिष्ट व्यवसायी किशोर कार्कीलाई स्वागतकारिणी समितिको अध्यक्ष र श्री राजेन छेत्रीलाई कार्यकारी अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा श्री प्रेम सुबेदी, उपाध्यक्षमा श्री गोपाल लिम्बू, मुख्य मूलसचिवमा श्री डिल्लीराम शर्मा, मूलसचिव (समन्वय) मा श्री हेमचन्द्र छेत्री तथा मूलसचिव (प्रशासन) मा श्री मनोज छेत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ। गोर्खा नागरिक समाजको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्न असम गोर्खा सम्मेलनका दिलीप छेत्री, अखिल असम गोर्खा छात्र संघका युवराज कटुवाल, असम नेपाली साहित्य सभाका धर्मेन्द्र उपाध्याय लगायतलाई उपाध्यक्षमा तथा माधव नेपाल, राज पराजुली र पंकज मगरलाई मूलसचिवमा मनोनयन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मूल सचिव श्री नन्द किराती देवानले प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको देशभक्ति र त्यागले नयाँ पुस्तालाई प्रेरित गरिरहने बताए। उनले त्रैवार्षिक अधिवेशनलाई संगठनको गतिविधिको समीक्षा गर्ने र असमका गोर्खा समुदायका सवालहरूबारे भावी रणनीति तय गर्ने लोकतान्त्रिक मञ्चका रूपमा व्याख्या गरे। सभामा राज्य समितिका अध्यक्ष अमर अधिकारी, कार्यकारी अध्यक्ष ठण्डी नेवार, वरिष्ठ उपाध्यक्ष खेम प्रधान लगायत थुप्रै केन्द्रीय तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
परिसंघका वरिष्ठ उपाध्यक्ष श्री खेम प्रधानले पत्रकारहरूसँग कुरा गर्दै २४ अगस्ट २०२६ मा बिहानैबाट अधिवेशन सुरु भई बेलुका प्रतिनिधि सभा आयोजना गरेर नयाँ राज्य समिति गठन गरिने जानकारी दिए। उनका अनुसार २५ अगस्टका दिन राज्यस्तरीय रूपमा मेजर दुर्गा मल्लको बलिदान दिवस श्रद्धापूर्वक मनाइनेछ। यी दुवै कार्यक्रम असमका गोर्खाहरूका लागि ऐतिहासिक समागम बन्ने र यसले साङ्गठनिक एकतालाई सुदृढ पार्दै राष्ट्रिय वीरहरूको सम्मान र सामाजिक तथा संवैधानिक अधिकारहरूको संरक्षणका लागि सामूहिक प्रतिबद्धता स्थापित गर्ने विश्वास लिइएको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

मणिपुरमा १३५औँ गोर्खा शहीद दिवस सम्पन्न: वीर सुबेदार निरन्जन सिंह क्षेत्रीप्रति श्रद्धाञ्जली

भारतीय गोर्खा परिसंघ मणिपुर राज्य समिति द्वारा १३५औँ शहीद दिवस भव्यताका साथ सम्पन्न

काङलातोङ्बी, मणिपुर, जुन ८ : भारतीय गोर्खा परिसंघ (बीजीपी) मणिपुर राज्य समितिले १३५औँ शहीद दिवस आज अत्यन्त श्रद्धा, भक्ति र सम्मानका साथ मनाएको छ। राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता तथा सुरक्षाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने वीर गोर्खा शहीदहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।यस वर्षको शहीद दिवस समारोह काङलातोङ्बी ग्राम पञ्चायतअन्तर्गत अवस्थित ऐतिहासिक शहीद सुबेदार निरन्जन सिंह क्षेत्र (परिसर) मा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सम्पूर्णले वीर शहीद सुबेदार निरन्जन सिंह क्षेत्रीको प्रतिमा तथा तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्दै उनको अद्वितीय योगदानको स्मरण गरेका थिए।कार्यक्रमको शुभारम्भ दीप प्रज्वलनमार्फत गरिएको थियो। त्यसपछि उपस्थित अतिथि तथा सहभागीहरूले अमर शहीदहरूको आत्माको चिरशान्तिको कामना गर्दै माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गरेका थिए। समारोहभरि राष्ट्रप्रेम, बलिदान र वीरताको भावनाले विशेष वातावरण सिर्जना गरेको थियो।उक्त गरिमामय कार्यक्रममा भारतीय गोर्खा परिसंघका विभिन्न तहका पदाधिकारीहरूका साथै स्थानीय सामाजिक, सांस्कृतिक, साहित्यिक तथा खेलकुद संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, युवा तथा समाजका अन्य गण्यमान्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।वक्ताहरूले शहीदहरूको बलिदानले राष्ट्र निर्माण र राष्ट्रिय एकताको मार्गलाई सुदृढ बनाएको उल्लेख गर्दै युवा पुस्ताले उनीहरूको आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शहीदहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउनु सम्पूर्ण समाजको दायित्व भएको पनि बताए।काङलातोङ्बीको ऐतिहासिक भूमिमा सम्पन्न १३५औँ शहीद दिवसले गोर्खा समुदायको राष्ट्रप्रतिको अदम्य साहस, निष्ठा, बफादारी तथा अटुट देशभक्तिलाई पुनः एकपटक उजागर गरेको छ। कार्यक्रममा सहभागीहरूले सम्पूर्ण शहीदहरूको अमर बलिदानलाई सदैव उच्च सम्मानका साथ स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

को हुन हरि प्रसाद गोर्खा राई?

0

बाबरी फूलको बास्ना मीठो,
जुनेली रातको सपना मीठो।”

गोर्खा साहित्य शिरोमणि हरि प्रसाद ‘गोर्खा’ राईको १११औँ जन्मजयन्ती: गुवाहाटीमा शालिक अनावरण

Nelive24 Desk

गुवाहाटी: प्रख्यात गोर्खा कवि तथा साहित्यकार हरि प्रसाद ‘गोर्खा’ राईको १११औँ जन्मजयन्ती आइतबार (१५ मार्च २०२६) गुवाहाटीमा श्रद्धापूर्वक मनाइएको छ। यसै अवसरमा भारतीय गोर्खा परिसंघ (भागोप) को असम राज्य कार्यालय परिसर (हरि प्रसाद ‘गोर्खा’ राई भवन) मा उनको अर्धकाय शालिकको अनावरणसमेत गरिएको छ।

​गुवाहाटीस्थित सामाजिक-साहित्यिक संस्था ‘सयपत्री संस्कृतिक कला संगम’ द्वारा आयोजित उक्त स्मरण कार्यक्रममा भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष नित्यानन्द उपाध्यायले मुख्य अतिथिको रूपमा शालिकको अनावरण गरेका थिए।

कार्यक्रममा हरि प्रसाद ‘गोर्खा’ राईकी नातिनी तथा प्रतिष्ठित महिला उद्यमी श्रीमती सुमन राई केसी र उनका पति, चौतारी सामाजिक समूहका अध्यक्ष तथा विशिष्ट व्यवसायी गोपाल केसीको विशेष उपस्थिति रहेको थियो। यसका साथै, भागोप असम राज्य समितिका अध्यक्ष अमर अधिकारी, असम नेपाली साहित्य सभाका पूर्व अध्यक्ष नवा सापकोटा, आग्सूका पूर्व सभापति अर्जुन छेत्री, असम गोर्खा सम्मेलनका पूर्व मूलसचिव किशोर उपाध्याय, कामरूप जिल्ला भागोपका अध्यक्ष जगदीश गहतराज लगायत विभिन्न युवा क्लब, महिला सङ्घ र स्थानीय विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता सयपत्री संस्कृतिक कला सङ्गमकी कार्यकारी अध्यक्ष श्रीमती मुन्नी सापकोटाले गरेकी थिइन्।

साहित्यिक योगदान र विरासतको चर्चा

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि नित्यानन्द उपाध्यायले हरि प्रसाद ‘गोर्खा’ राईको जीवनयात्रा र गोर्खा साहित्यमा उनको अमूल्य योगदानबारे विस्तृत चर्चा गरे। उनले मालीगाउँस्थित देवकोटा नगरमा दुईतले ‘हरि प्रसाद ‘गोर्खा’ राई भवन’ निर्माणका साथै अहिले अनावरण गरिएको शालिक प्रायोजन गर्ने गोपाल केसी र सुमन राई केसी परिवारप्रति विशेष कृतज्ञता व्यक्त गरे। उक्त भवनमा हाल भागोप असम राज्य समिति र सयपत्री संस्कृतिक कला सङ्गमको कार्यालय सञ्चालित छ।

को हुन् हरि प्रसाद ‘गोर्खा’ राई?

१५ मार्च १९१४ मा नागा हिल्सको तत्कालीन मुख्यालय कोहिमामा जन्मिएका स्वर्गीय हरि प्रसाद ‘गोर्खा’ राई उत्तर–पूर्व भारतका एक विख्यात बहुभाषी साहित्यकार थिए। साहित्य एकेडेमीको सामान्य परिषद्का पूर्व कार्यकारी सदस्यसमेत रहेका राई असमिया, हिन्दी, बंगाली, मणिपुरी, उडिया र अङ्गामी भाषामा पनि उत्तिकै पोख्त थिए।

​शिक्षण पेशाबाट आफ्नो करिअर सुरु गरेका उनले आकाशवाणी (All India Radio) गुवाहाटी र कटक केन्द्रमा सहायक निर्देशकको पदसम्म पुगेर सन् १९६८ मा स्वेच्छिक अवकाश लिएका थिए। दोस्रो विश्वयुद्धको समयमा उनले सामुदायिक विकास अधिकारी र भारत-बर्मा सीमामा शरणार्थी पुनर्वासका लागि क्याम्प कमाण्डेन्टजस्ता महत्वपूर्ण जिम्मेवारीहरू पनि कुशलतापूर्वक सम्हालेका थिए।

​सन् १९३१ मा विद्यालयको पत्रिका “ज्योति” मा पहिलो कविता प्रकाशित गरेर साहित्यिक यात्रा थालेका राईका “बाबरी”, “मञ्चरिको बोली” (कविता सङ्ग्रह) र “यहाँ बदनाम हुन्छौ” (कथा सङ्ग्रह) जस्ता कृतिहरू निकै लोकप्रिय छन्। उनका कविताहरू “क्याम्प उठ्यो” र “गोर्खाको मोडल” पश्चिम बंगाल र सिक्किमका विद्यालय पाठ्यक्रममा समेत समावेश छन्।

​आफ्नो जीवनकालमा पद्मा धुंगाना पुरस्कार, जगदम्बी श्री पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कारलगायत थुप्रै सम्मानबाट पुरस्कृत राई एक सक्रिय समाजसेवी पनि थिए। ९५ वर्षको उमेरमा १४ नोभेम्बर २००५ मा कोहिमामा निधन भएका राईलाई आज उत्तर-पूर्व भारतमा “गोर्खा साहित्यको शिरोमणि” का रूपमा सम्मानका साथ स्मरण गरिन्छ।

​गुवाहाटीमा स्थापित यो शालिकले आफ्नो नाममा “गोर्खा” शब्द प्रयोग गरी जातीय पहिचान स्थापित गर्ने अग्रणी व्यक्तित्वप्रतिको सच्चा श्रद्धाञ्जलि अर्पण गरेको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
- Advertisement -

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283